वि.स. २०३१ मा गण्डकी प्रदेशको गोरखामा जन्मेका डा. स्वर्णिम वाग्ले अन्तर्राष्ट्रिय विकास अर्थशास्त्री हुन्। विगत २५ वर्षदेखि नेपालभित्र र बाहिर सक्रिय डा. वाग्ले वि.स. २०७७ देखि २०७९ सम्म राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एसिया-प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार थिए। त्यसअघि तीन वर्ष राष्ट्रिय योजना आयोगको उपाध्यक्ष एवं सदस्य रहेका वाग्लेले वि.स. २०७२ को महाभूकम्पपछि पुनर्निर्माणका लागि क्षति आकलन गर्ने र उल्लेखनीय अन्तर्राष्ट्रिय सहयोग जुटाउने कार्यमा विशेष भूमिका खेलेका थिए। नेपाल फर्कनुअघि विश्व बैंक र यूएनडीपीमा वरिष्ठ अर्थशास्त्री रहिसकेका वाग्ले हाल काठमाडौँ विश्वविद्यालयको सेनेट सदस्य एवं सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइ.आइ.डी.एस.) का अध्यक्ष छन्।
नेपालको लोकतान्त्रिक आन्दोलनमा वि.स. २०२७ देखिनै उनको परिवारको संलग्नता छ। वि.स. २०४२ को सत्याग्रहदेखि राजनीतिक रुपमा दीक्षित र २०४६ को जनआन्दोलनमा सहभागी भएका वाग्ले नेपाली कांग्रेसको पूर्वमहासमिति सदस्य हुन्। वि.स. २०७९ र २०७४ को आम निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्नेदेखि आर्थिक नीति र योजना, कार्यक्रम र वैचारिक विमर्शहरुमा उनको नेतृत्वदायी भूमिका रहँदै आएको छ।
लण्डन स्कुल अफ इकनमिक्स (बेलायत) बाट अर्थशास्त्रमा स्नातक, अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अष्ट्रेलियन राष्ट्रिय विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि (पी.एच.डी.) गरेका वाग्लेले उच्च माध्यमिक तह सम्मको अध्ययन बूढानीलकण्ठ स्कूलमा गरेका थिए। वि.स. २०४६ को एस.एल.सी. परीक्षामा उनी नेपालभर दोस्रो (बोर्ड सेकन्ड) भएका हुन्।
नेपालका ६५ भन्दा बढी जिल्ला भ्रमण गर्दै बहुलवादी लोकतान्त्रिक पद्धतिभित्रै सुशासन र आर्थिक उन्नतिको राष्ट्रिय अभियानमा उनी लागेका छन्। विभिन्न अन्तर्राष्ट्रिय मन्चमा नेपाली प्रतिनिधिमण्डलको मन्त्रीस्तरीय नेतृत्व लगायत दर्जनौं सम्मेलनहरुमा प्रमुख वक्ता वा विज्ञका रुपमा सहभागी हुँदा विश्वका राजनेता र प्राज्ञहरुसँग फराकिलो सम्बन्ध बनाएका डा. वाग्ले आफुले आर्जेको ज्ञान, अनुभव, प्रतिष्ठा र सामाजिक पूँजी नेपाल राष्ट्रकै सम्पत्तिका रुपमा अर्पण र उपयोग गर्ने प्रण गर्दै राजनीतिमा होमिएका हुन्।
0 Comments